काठमाण्डौ – सरकारले काठमाण्डौ प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ । काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको हो । 
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको कार्यक्रममा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले काठमाण्डौमा संक्रमित थपिँदै गएको र घना बस्तीमा थप जोखिम रहेकाले नाकामा थप कडाइ हुने बताउनुभयो । यसको लागि सुरक्षा निकायले योजना बनाउने उहाँको भनाइ छ । 
यस्तै देशैभरि कोरोनाको जोखिम बढ्दै गएकोमा सरकार थप चिन्तित भएको र नागरिकले थप सतर्कता अपनाउनुपर्ने खतिवडाले बताउनुभयो । 
‘कोरोनाको जोखिम हटेको नभइ कोरोनासँग बच्दै जनजीवन सामान्य बनाउनको लागि लकडाउन हटाइएको हो, कोरोना रोक्न सरकार मात्रै जिम्मेवार नभइ नागरिकको जिम्मेवारी झन् ठूलो छ, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नै पर्छ’, खतिवडाले भन्नुभयो ।